काठमाडौं । बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन्।
मंगलबार संसद् बैठकमा विशेष समय सकिएपछि नियमित कार्यसूचीमा प्रतिनिधिसभा बैठक चलिरहेकै थियो । तर, श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ आफ्ना कुरा राख्न आसनबाट उठे । उनले सभामुख डोलप्रसाद अर्यालसँग आकस्मिक समय माग गरे ।
सभामुख अर्यालले समय पनि नदिएको र माइक पनि नदिएको भन्दै बस्नका लागि आग्रह गरिरहे । तर, साम्पाङ रोकिएनन् । उनले उठेर विरोध जनाए। आफ्ना कुरा राखिरहे ।
उनले सदनमा अनुपस्थित हुने सांसदहरूलाई के कारबाही हुन्छ ? भन्दै सभामुखसँग सोधे । ‘सबै कुर्सी खाली छ, हामी चाहिँ आएर दिनभरि बसिराख्नुपर्ने अरूचाहिँ नबस्दा पनि हुने ?’ उनको प्रश्न थियो ।
हर्कले सदनमा प्रधानमन्त्री नआएको, सांसदहरू अनुपस्थित भएको विषय राखे। तर सभामुखले बोल्न समय नदिएपछि उठेर हिँडे।









