किन्शासा । कंगो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ं ले आइतबार विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो । अझ चिन्ताजनक पक्ष, फैलिएको
बुन्डिबुग्यो प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन ।
रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कंगोको प्रमुख सहर गोमामा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा सङ्क्रमण देखिएसँगै यो प्रकोप कंगोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संकटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शंकास्पद सङ्क्रमणका घटना दर्ता भएका छन् । सङ्क्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् ।
कंगोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन् । पतिमा सङ्क्रमण पुष्टि भएपछि उनी गोमा पुगेकी थिइन्, जहाँ परीक्षणपछि उनमा पनि सङ्क्रमण पुष्टि भएको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरिएको बताए । यद्यपि उनले हालको अवस्थाले अझै पूर्ण महामारीको स्तर भने नपुगेको स्पष्ट पारे ।
जेनेभास्थित विश्व स्वास्थ्य संगठनले अहिले आफ्नो दोस्रो उच्च सतर्कता लागू गरेको छ । संगठनका अनुसार सङ्क्रमित व्यक्तिको वास्तविक सङ्ख्या र सङ्क्रमण फैलिएको भौगोलिक क्षेत्रबारे अझै ठूलो अनिश्चितता कायम छ ।
चिकित्सा सहायता संस्था डाक्टर्स विदआउट बोर्डर्स अर्थात् एमएसएफले सङ्क्रमणको फैलावटलाई अत्यन्त चिन्ताजनक भन्दै ठूलो स्तरको स्वास्थ्य प्रतिकार योजना अघि बढाइरहेको जनाएको छ ।
कंगोका स्वास्थ्यमन्त्री सामुएल–रोजर कम्बाका अनुसार यो प्रकोप निम्त्याउने बुन्डिबुग्यो प्रकारको इबोलामा मृत्युदर अत्यन्त उच्च छ, जुन ५० प्रतिशतसम्म पुग्न सक्छ । यो प्रकार पहिलोपटक सन् २००७ मा पहिचान गरिएको थियो । अधिकारीहरूका अनुसार यही सङ्क्रमणले छिमेकी युगान्डामा पनि एक कंगोली नागरिकको ज्यान लिइसकेको छ ।
हाल उपलब्ध इबोला खोपहरू भने केवल जाइर प्रकारको भाइरसविरुद्ध मात्र प्रभावकारी मानिन्छन् । सन् १९७६ मा पहिचान गरिएको उक्त प्रकारको इबोलामा मृत्युदर ६० देखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पछिल्लो सङ्क्रमण पहिलो पटक उत्तरपूर्वी कंगोको इटुरी प्रान्तमा पुष्टि भएको थियो । युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको यो क्षेत्र अहिले सङ्क्रमणको मुख्य केन्द्र बनेको छ ।
स्वास्थ्यमन्त्री कम्बाका अनुसार पहिलो सङ्क्रमित एक नर्स थिइन्, जसले अप्रिल २४ मा इटुरी प्रान्तको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा ज्वरो, रक्तस्राव र बान्ताजस्ता लक्षणसहित उपचारका लागि सम्पर्क गरेकी थिइन् । पछि परीक्षण गर्दा उनमा इबोला सङ्क्रमण पुष्टि भएको थियो ।
इबोलाका मुख्य लक्षणमा उच्च ज्वरो, शरीरभित्र तथा बाहिरी रक्तस्राव, कमजोरी, वान्ता र अंग विफलता समावेश छन् । सङ्क्रमित व्यक्ति लक्षण देखिएपछि मात्र अरूमा सङ्क्रमण फैलाउन सक्षम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । भाइरस सङ्क्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । यसको इन्क्युबेसन अवधि २१ दिनसम्म हुन सक्छ ।
फ्रान्सभन्दा चार गुणा ठूलो भूभागमा फैलिएको कंगोमा कमजोर यातायात र सञ्चार पूर्वाधारका कारण स्वास्थ्य सामग्री तथा चिकित्सक परिचालन ठूलो चुनौती बनेको छ । दुर्गम क्षेत्रमा सङ्क्रमण केन्द्रित भएकाले धेरै नमूनाको परीक्षणसमेत हुन सकेको छैन ।
पछिल्ला ५० वर्षमा इबोलाले अफ्रिकामा करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ । सन् २०१८ देखि २०२० सम्म कंगोमा फैलिएको सबैभन्दा घातक प्रकोपमा मात्रै झण्डै दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।
चमेरोबाट उत्पत्ति भएको विश्वास गरिने इबोलाले शरीरमा गम्भीर रक्तस्राव, अंग विफलता तथा तीव्र शारीरिक क्षति पुर्याउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न प्रकोपमा यसको मृत्युदर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुगेको देखिएको छ ।






