काठमाडौं । काठमाडौंको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ। ‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौं भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

ADVERTISEMENT

मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ। साथै, माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ।

ADVERTISEMENT

पुराणअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये पहिलो अवतार मत्स्य अवतार मानिन्छ। प्रलयकालमा मत्स्यरूपी भगवान्ले समुद्रमा डुङ्गाको काम गर्दै वेदको रक्षा गरेको धार्मिक विश्वास रहेको छ।

ADVERTISEMENT