काठमाडौँ । एमालेले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ ।
मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।
एमाले अध्यक्ष केपी ओलीले मदन-आश्रितलाई श्रद्धाञ्जली दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार भई यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको उल्लेख गरेका छन् ।
‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ। जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ,’ उनले भनेका छन् ।






