काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्।
भट्टलाई एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रक्रिया सुरु भएकोबारे मन्त्री यादवले जानकारी गराएकी थिइन्। मन्त्रीको निर्देशनपछि भट्टले एक–दुई दिन समय दिन आग्रह गरेका थिए।
भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए ।
सरकारले यसअघि भएका सबै राजनीतिक नियुक्तीलाई खारेज गरिरहेको छ। पहिलो चरणमा करिब १५ सयलाई बर्खास्त गरेको सरकारले दोस्रो चरणमा थप पाँच सय नियुक्ति खारेज गर्ने गरी सूची तयार गरेको थियो।
दोस्रो चरणमा बर्खास्त हुने कार्यकारी प्रमुखहरुको सूचीमा आयल निगमका कार्यकारी निर्देशक भट्ट पनि थिए। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० मा तीन वर्षका लागि नियुक्ति गरेको थियो।












