काठमाडौं । सरकारले भोगाधिकार र लिजमा लिइएको जग्गा खाली गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त, तर लिजमा परिणत नगरिएका सरकारी जग्गा र संरचना खाली गर्न बिहीबार सूचना जारी गरेको छ ।
भूमि व्यवस्था मन्त्रालयको निर्देशनपछि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय हट्नुपर्ने भएको छ । ‘सरकारी जग्गा उपयोगसम्बन्धी कार्यनीति, २०७९’ बमोजिम समयमै निवेदन नदिएका संस्थाहरूको भोगाधिकार स्वतः समाप्त भएको सूचना जारी गरिएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा रहेको जग्गामा एमालेले केही वर्षदेखि आफ्नो मुख्यालय सञ्चालन गर्दै आएको छ । २०७२ को भूकम्पपछि बल्खुबाट विस्थापित भएर विभिन्न स्थान हुँदै च्यासल पुगेको एमाले कार्यालय अब सरकारी कडा नीतिका कारण पुनः स्थानान्तरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
‘मिति २०७३–२–३१ र मिति २०७४–०१–२१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागबाट प्रकाशित भएको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरुले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकोले सम्झौताको शर्तबमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न,’ मन्त्रालयको सूचनामा भनिएको छ ।
एमालेले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, उक्त जग्गा लिजमा परिणत गरिएको छैन। सरकारले अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान नै चलाएको छ । यही अभियानमा एमाले पार्टी कार्यालय नै अन्यत्र सार्नुपर्ने अवस्था आएको हो ।






