काठमाडौं। काठमाडौँ महानगरपालिका-२९, इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने घटनामा संलग्न तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा भक्तपुर ठिमी नगरपालिका–९ बोडेका ३० वर्षीय विकेश राजवाहक, काठमाडौँ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका छन्। राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तथा महर्जनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले वैशाख १७ गते इन्द्रचोकस्थित ‘नैना एन्ड इशान ज्वेलर्स’मा प्रवेश गरी पेस्तोल तेर्साउँदै लुटपाट गर्ने प्रयास गरेका थिए। घटनाका बेला पसलमा एक्लै रहेकी महिला कर्मचारीले साहसिक प्रतिकार गरेपछि आरोपीहरू भाग्न बाध्य भएका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।
अनुसन्धानका क्रममा यसै समूहले गत पुस २१ गते काठमाडौँ–२५ मांसान गल्लीस्थित एक होलसेल पसलमा पनि समान शैलीमा लुटपाट गरेको खुलेको छ। सो घटनामा उनीहरूले करिब दुई तोला सुनको सिक्री, चार लाख रुपैयाँ नगद, दुई थान मोबाइल र सीसीटीभी क्यामेरा लुटेको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूबाट लुटपाटमा प्रयोग गरिएको चाइनिज पेस्तोल, एक थान म्यागजिन, एक राउण्ड गोली, नक्कली सामग्री , घटनामा प्रयोग भएका कपडा तथा स्कुटर समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






