काठमाडौं । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । बैशाख २१ गतेदेखि सो सेवा शुभारम्भ भएको हो । नेपाल टेलिकमले पाथीभरा र आसपासका स्थानीय तहहरुलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहबाट करिब ३,७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथिभरा माताको दर्शन गर्न जाने हजारौं श्रद्धालु भक्तजनहरूका साथै मन्दिर आसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजंगा गाउँपालिका र पाथिभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू लाभान्वित हुनेछन् ।

अब मन्दिर दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुहरूले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्नुहुनेछ । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिनेछ ।

ADVERTISEMENT

सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दाहरू अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउनेछ ।

ADVERTISEMENT

उच्च पहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकाय वा परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्वपूर्ण भूमिका खेल्नेछ ।

ADVERTISEMENT

त्यसैगरी सञ्चार सुविधाको उपलब्धताले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीहरूलाई क्युआर कोडमार्फत भुक्तानी लगायतका डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवद्र्धन गर्न सहज हुनेछ । ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु¥याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ ।