काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलीय राजनीतिबाट मुक्त गर्ने घोषणा गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले वर्षौँदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको आरोप लगाएका छन् ।
धेरै पत्रकार, नेता र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृति हटाउने निर्णय लिएको उनले बताएका छन् । अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको घोषणा गरेका छन् ।
‘अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ,’ उनले भनेका छन् ।
विगतमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’ बनेको प्रधानमन्त्री बालेनको आरोप छ । योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइएका कारण जनताको विश्वास प्रणालीप्रति कमजोर भएको उनले बताएका छन्। देश बनाउन नसक्नुको कारण पनि यही भएको उनको तर्क छ । अब भाषणमा भन्दा निर्णयमा चल्नुपर्ने र तब मात्र काम हुने उनको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि गरेको उनले दाबी गरेका छन् । उनले रास्वपाले चाहेमा अहिले पनि ठूला संगठन बनाउन सक्ने भन्दै त्यसबाट देश नबन्ने भएकाले यस्तो निर्णय लिइएको बताएका छन् ।









