वीरगन्ज। वीरगन्जमा खुला सीमाना प्रयोग गरी भारतीय तरकारी क्वारेन्टिन जाँचबिनै भित्रिने क्रम बढ्दो देखिएको छ। सीमावर्ती रक्सौल बजारबाट लुकीछिपी ताजा तरकारी र फलफूल दैनिक रूपमा नेपाल भित्रिने गरेको स्थानीय स्रोतले बताएका छन्।

पर्सा र बारा जिल्लासँग जोडिएका विभिन्न खुला नाकाहरूको फाइदा उठाउँदै साइकल चालकहरूले बिहान सबेरैदेखि ‘क्यारिङ’ गरेर तरकारी वीरगन्ज भित्र्याउने गरेका छन्। विशेषगरी नगवा, इनर्वा र विश्रामपुर क्षेत्रबाट यस्ता गतिविधि भइरहेको पाइएको छ।

स्थानीयका अनुसार प्रतिसाइकल ठूलो परिमाणमा तरकारी बोकेर ल्याइने गरेको छ, जसले बजारमा सस्तो मूल्यमा बिक्री हुने भएकाले स्थानीय व्यापारीसमेत प्रभावित भएका छन्। यस्ता तरकारीमा कुनै प्रकारको क्वारेन्टिन परीक्षण नहुने भएकाले गुणस्तर र स्वास्थ्य सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलका अनुसार खुला नाकाबाट भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। उनले यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

उनका अनुसार छपकैया, इनर्वा र विश्रामपुरलगायत क्षेत्रबाट समूहगत रूपमा दैनिक ठूलो परिमाणमा तरकारी ल्याइने गरिएको छ। “खुला नाकाको दुरुपयोग भइरहेको छ, यसले उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ,” उनले भने।

यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने भन्सार प्रक्रिया पूरा गरी क्वारेन्टिन जाँचमा योग्य भएका तरकारी तथा फलफूल मात्र नेपाल भित्र्याउन पाइने स्पष्ट पारेका छन्। क्वारेन्टिन जाँचबिनै तरकारी ल्याउन नपाइने र त्यस्तो पाइएमा नियन्त्रणमा लिइने बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका अनुसार पर्सा क्षेत्रभन्दा बढी बारा जिल्लाको सीमावर्ती विश्रामपुर क्षेत्रबाट यस्ता तरकारी भित्रिने गरेका छन्। त्यहाँबाट भित्रिएको तरकारी अन्ततः वीरगन्ज बजारसम्म पुग्ने गरेको जानकारी दिइएको छ।

सीमा क्षेत्रमा निगरानी कमजोर हुँदा अवैध रूपमा तरकारी आयात बढेको देखिन्छ। यसले एकातर्फ सरकारी राजस्वमा असर पारेको छ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाएको छ।

स्थानीय सरोकारवालाहरूले खुला सीमाना व्यवस्थापन कडाइ गर्न, क्वारेन्टिन जाँच अनिवार्य गर्न र अवैध आयातमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्। अन्यथा यस्ता गतिविधि नियन्त्रण बाहिर जाने र बजार प्रणालीमा थप समस्या निम्तिने उनीहरूको भनाइ छ।