तम्घास (गुल्मी)। तम्घासमा फोहोर व्यवस्थापनमा नयाँ अभ्यास सुरु भएको छ। नगर विकास तथा वातावरण सरसफाइ समितिले बजार क्षेत्रबाट सङ्कलन हुने नकुहिने फोहोर बिक्री गर्न थालेपछि सरसफाइसँगै आम्दानीको स्रोतसमेत बढ्न थालेको हो।
समितिले नेप्लिज वेष्ट बैङ्कसँग सम्झौता गरी प्लास्टिक, फलाम, सिसा, टिनलगायतका फोहोर बिक्री सुरु गरेको हो। सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकिलो १० रुपैयाँ, रेडबुलका बोतल ८० रुपैयाँ, एचडिपी प्लास्टिक ८ रुपैयाँ, पानीका बोतल १० रुपैयाँ, फलाम १५ रुपैयाँ, सिसा १ रुपैयाँ र टिन ५ रुपैयाँमा बिक्री भइरहेको छ।
समितिले रेसुङ्गा नगरपालिकाका वडा नम्बर १, २, ४, ७, ८ र ९ का एक हजार ७६५ घरधुरीबाट दैनिक रूपमा फोहोर सङ्कलन गर्दै आएको छ। यसका लागि दुई वटा ट्याक्टर, दुई चालक र दुई सहचालक परिचालन गरिएको छ। शनिबारबाहेक साताको छ दिन बजार क्षेत्रबाट फोहोर उठाइने गरिएको छ।
दैनिक करिब दुई टन कुहिने र नकुहिने फोहोर सङ्कलन हुने गरेको समितिले जनाएको छ। सङ्कलित फोहोरमध्ये नकुहिने वस्तु छुट्याएर बिक्री गरिन्छ भने कुहिने फोहोर व्यवस्थापनका लागि अलग प्रक्रिया अपनाइन्छ। फोहोर छुट्याउने कामका लागि वेष्ट बैङ्कले तीन जना मजदुर राखेको छ, जसलाई सङ्कलनको मात्राअनुसार पारिश्रमिक उपलब्ध गराइन्छ।
फोहोर बिक्री सुरु भएसँगै मासिक रूपमा करिब २० हजार रुपैयाँ आम्दानी हुन थालेको छ। यसअघि व्यवस्थापनको अभावमा फोहोर ओख्रेनी क्षेत्रमा थुपारेर जलाउने गरिएको थियो। त्यसबाट ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्कलगायतका बस्तीमा दुर्गन्ध फैलिने समस्या देखिन्थ्यो।
अहिले भने उक्त समस्या क्रमशः समाधान हुँदै गएको छ। तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क र भनपानी जाने बाटोसम्म फैलिने दुर्गन्ध हट्दै गएको स्थानीयवासी बताउँछन्। फोहोर व्यवस्थापन व्यवस्थित भएपछि वातावरणीय सुधार स्पष्ट देखिएको छ।
यसको अर्को सकारात्मक प्रभाव खानेपानीमा पनि परेको छ। फोहोर फालिने स्थान नजिकै रहेको खानेपानीको ट्याङ्कीमा प्रदूषणको जोखिम कम भएको छ। उक्त पानी तम्घास बजारमा प्रयोग हुने भएकाले यसअघि सरसफाइको विषयमा प्रश्न उठ्ने गरेको थियो। अहिले भने फोहोर व्यवस्थापन सुधार भएसँगै पानीको गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ।
फोहोर व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ। नगरपालिकाले १३ लाख ८० हजार रुपैयाँ लागतमा फोहोर व्यवस्थापनका लागि आवश्यक जमिन सम्याउने काम गरेको थियो। उक्त रकममध्ये हालसम्म सात लाख रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी रकम भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।
नगरपालिकाले वार्षिक रूपमा सरसफाइ समितिलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। यसले फोहोर सङ्कलन, व्यवस्थापन र जनशक्ति परिचालनमा सहयोग पुगेको छ।
समितिले अबको चरणमा कुहिने फोहोरको दीर्घकालीन व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको छ। हालसम्म कुहिने फोहोरलाई ओख्रेनी नजिकैको खोल्सामा पुर्ने गरिएको भए पनि अब त्यसलाई उपयोगमा ल्याउने योजना अघि सारिएको छ। करिब १४ लाख रुपैयाँ लागतमा कम्पोष्ट मल उत्पादन गर्ने योजना बनाइएको छ।
यो योजना कार्यान्वयनमा आएपछि कुहिने फोहोरबाट मल उत्पादन गरी कृषिमा प्रयोग गर्न सकिनेछ भने फोहोर व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
२०६१ सालदेखि तम्घास क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको समितिले पछिल्लो समय व्यवस्थापन प्रणालीलाई आधुनिक र दिगो बनाउने प्रयास थालेको छ। फोहोर बिक्री र कम्पोष्ट मल उत्पादनजस्ता योजनाले नगरलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ।






