काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ।

बेंगलुरुको एम. चिन्नास्वामी रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने खेलमा साविक विजेता बेंगलुरु शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदान उत्रनेछ। उत्कृष्ट लयमा रहेका विराट कोहली यस सिजन सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा छन्, जसका कारण दिल्लीका बलरहरू दबाबमा रहने देखिन्छ।

आजै साँझ हुने दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने यस खेलमा घरेलु टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रनेछ। हैदराबादले अघिल्लो खेलमा राजस्थानलाई ५७ रनले पराजित गरेको थियो।

अर्कोतर्फ, चेन्नईका अनुभवी खेलाडी एमएस धोनी चोटका कारण आजको खेलमा पनि मैदान बाहिर रहने सम्भावना छ, जसले टोलीको रणनीतिमा प्रभाव पार्न सक्छ।

यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको रोमाञ्चक जित निकालेको थियो। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातका कप्तान शुभमन गिलले ८६ रनको उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। यस जितसँगै गुजरात अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ भने कोलकाता लगातार छैटौँ हारसँगै पुछारतिर झरेको छ।