सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको टेकोशी गाउँपालिका–शिरभेगमा अवस्थित भैरवकुण्ड धार्मिक आस्था, सांस्कृतिक महत्व र अद्वितीय प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ। सेताम्मे हिउँले ढाकिएको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्रका रूपमा रहेको यस कुण्डलाई विशेषगरी शेर्पा समुदायले ‘आमा छयूमेन’का रूपमा पूजा गर्ने परम्परा रहिआएको छ।
समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा रहेको भैरवकुण्ड विशाल र मनमोहक ताल हो, जुन करिब ८४ हजार १९३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यो कुण्ड ६ हजार ५६७ मिटर अग्लो फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित छ, जसले यसको भौगोलिक महत्वलाई अझ बढाएको छ।
भैरवकुण्ड क्षेत्रको अर्को आकर्षण भनेको तालभन्दा केही तल अवस्थित १९८ मिटर अग्लो भैरवकुण्ड छहरा हो, जसलाई नेपालकै दोस्रो अग्लो छहरा मानिन्छ। साथै, सम्मुखमा देखिने जुगल हिमशृङ्खलाले यहाँको दृश्यलाई झनै आकर्षक बनाउने गर्दछ।
कठिन भूगोलका कारण यहाँ पुग्न चुनौतीपूर्ण भए पनि प्राकृतिक सौन्दर्यले ती सबै कठिनाइ भुलाइदिन्छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको लार्चाबाट ठाडो उकालो र भीरको बाटो हुँदै करिब दुई दिनको पैदल यात्रापछि भैरवकुण्ड पुग्न सकिन्छ। यात्राका क्रममा डाक्लाङ, काक्लाङ, लिस्तिमाई (उग्रचण्डी भगवती), छगाम, बगाम र चोकर भीर हुँदै जाने मार्गमा स्थानीय घर तथा होमस्टेमा बास बस्न र अर्गानिक खानाको स्वाद लिन सकिन्छ।
यात्राका क्रममा शेर्पा समुदायको सांस्कृतिक जीवनशैली, भेषभूषा र परम्पराको नजिकबाट अवलोकन गर्ने अवसर पनि प्राप्त हुन्छ। भैरवकुण्डलाई भगवान् शिव र पार्वतीको वासस्थानका रूपमा लिने किंवदन्ती पनि रहेको छ, जसका कारण यस क्षेत्रलाई धार्मिक दृष्टिले अझ महत्वपूर्ण मानिन्छ।
हरेक वर्ष जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ, जसमा हजारौँ भक्तजनको उपस्थिति रहने गर्दछ। ‘जे माग्यो, त्यही पूरा हुने’ जनविश्वासका कारण तीर्थयात्रीहरू यहाँ पुग्ने क्रम बढ्दो छ।
हाल भैरवकुण्ड आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकको पनि रोजाइमा परेको छ। युरोप, अमेरिका र जापान लगायत विभिन्न देशका पर्यटकहरू यहाँको प्राकृतिक दृश्य अवलोकनका लागि आउने गरेका छन्। कतिपय विदेशी पर्यटक एक हप्तादेखि एक महिनासम्म बस्ने गरेका छन् भने धेरैजसोले टेन्ट र आवश्यक सामग्री बोकेरै यात्रा गर्ने गरेका छन्।
स्थानीयस्तरमा साना होटल तथा घरबासको व्यवस्था भए पनि अझ व्यवस्थित पूर्वाधार विकास गर्न सके भैरवकुण्डलाई नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने छ।






