काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । मानन्धरलाई चार वर्षका लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ।
हाल बैंकको सीइओ रहेका प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिँदै छ। मानन्धरले जेठ १ गतेदेखि सीइओको जिम्मेवारी सम्हाल्नेछन् । स्याङ्जा स्थायी ठेगाना भई मानन्धर हाल काठमाडौँ टोखामा बसोबास गर्छन् ।
मानन्धर हाल डिस मिडिया नेटवर्कको सीईओ छन् । उनी २०८१ वैशाख ३ गतेदेखि डिस मिडिया नेटवर्कको सीइओ भएका हुन् । डिस मिडिया नेटवर्कमा आवद्ध हुनुअघि उनी बैंकिंङ क्षेत्रमै थिए ।
उनीसँग बैंकिंङ क्षेत्रमा २५ वर्षको अनुभव छ। उनी यस अघि मुक्तिनाथ विकास बैंककै डेपुटी सीइओ पनि थिए। साविकको नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनीसँग यस अघि साविकको एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साविकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, प्राइम कर्मर्शियल बैंकलगायतका बैंकमा काम गरेको अनुभव छ।





