भक्तपुर। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। स्थानीयवासी तथा दर्शकहरूको उल्लेखनीय सहभागिताबीच जात्रा परम्परागत विधि र संस्कृतिअनुसार मनाइएको हो।
यस वर्ष २९ वर्षीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका छन्। उनी बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले यसअघि नौपटक जिब्रो छेडाएर जात्रालाई जीवित राखेका थिए भने उनीभन्दा अगाडि कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेड्ने कार्य सम्पन्न गरेका थिए।

सुजनले तीन वर्षअघि आफ्ना बुवाबाट परम्परा ग्रहण गर्दै जिब्रो छेड्ने जिम्मेवारी सम्हालेका हुन्। यसरी पुस्तान्तरण हुँदै आएको यो जात्रा बोडेको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा चिनिन्छ।
जात्रामा सहभागी हुने व्यक्तिले विशेष धार्मिक नियमहरू पालना गर्नुपर्ने परम्परा छ। जात्राका लागि ‘चारदाम’ चढाइसकेपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध मानिएका व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो वा सुतक परेको व्यक्तिसँग सम्पर्क गर्न नहुने, नुन तथा जुठो खाना सेवन गर्न नहुने तथा बोडे क्षेत्र बाहिर जान नहुने कडा नियमहरू पालना गर्नुपर्ने हुन्छ।
स्थानीय समुदायको आस्था, विश्वास र परम्पराको प्रतीकका रूपमा रहेको जिब्रो छेड्ने जात्रा संरक्षण र प्रवर्द्धनमा बोडेवासीहरू सक्रिय देखिएका छन्।








