काठमाडौं । नयाँ वर्ष २०८३ सालको अवसरमा काठमाडौंको कमलादीस्थित स्काइवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ । स्काइवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो । अर्थात् पहिले स्काइवाक चढ्न एक हजार रुपैयाँ लाग्थ्यो भने अब ५०० रुपैयाँमै चढ्न पाइनेछ । यो अफर वैशाख १ देखि १५ गतेसम्म मात्र लागू हुनेछ ।
‘नयाँ वर्षलाई विशेष बनाउन यो अफर ल्याइएको हो । सामान्य टिकट मूल्यमा आधा छुट पाएपछि धेरै परिवार, साथीभाइ र पर्यटकले यो ठाउँ घुम्न सजिलो हुनेछ । साथै नयाँ वर्षमा क्वालिटी टाइम पनि विताउन सकिन्छ,’ स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।
स्काइवाक नेपाल हरेक दिन बिहान ८ देखि बेलुका ८ बजेसम्म खुला रहन्छ । टिकट टावरमै किन्न सकिन्छ । १३ रोपनीमा निर्माण भएको ७८ दशमलव ५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ । स्काइवाक साहसिक गतिविधिका लागि मात्रै होइन, काठमाडौँका एतिहासिक स्थलको जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो ।

टावरबाट एतिहासिक घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । टावरको २५औँ तलामा स्काइवाक (सिसा ओछ्याइएको भूँइ) मा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँको प्रमुख गन्तव्य बनेको प्रवन्ध निर्देशक पाण्डेले बताए ।
स्काइवाकमा प्रति वर्गमिटर पाँच सय किलो भारबहन क्षमताको गुणस्तरीय सिसाको प्रयोग गरिएको छ । विभिन्न स्काइवाक निर्माण गर्दा जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डीहरु राखिएको छ ।
टावरको माथि पुग्न दुईवटा लिफ्ट बनाइएको छ भने एकैपटक ४५ जनासम्म माथि जान सकिन्छ । साथै स्काइवाकको माथिल्लो भागमा एकैपटक ५०० जनासम्म अट्न सक्ने कम्पनीको भनाइ छ ।
पछिल्लो समय जमघटको थलो बनेको यो ठाउँमा स्काइवाकबाहेक पनि विभिन्न सुविधा छन् । टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको पनि सुविधा छ । कम्पनीका अनुसार स्काइवाक सूर्योदय र सूर्योस्तको दृश्यावलोकन तथा योगा गर्नेका लागि पनि उपयुक्त थलो हो ।
“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौँको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौँ सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो”, प्रबन्ध निर्देशक पाण्डेले भने ।






