बागमती । आर्थिक संकट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक संकटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ ।
सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै अएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।
सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन् । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि संघीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए ।
‘हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु’, सांसद गौतमले भने, ‘यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले पनि सकारात्मक आश्वासन दिनुभएको छ ।’
उद्योग प्रशासनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिंकर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा.शिवनारायण साह बताए ।
गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिंकर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएको छ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एक दुई दिनमा पुनः उद्योग बन्द हुने निमित्त प्रमुख साहको भनाइ छ ।
उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ ।
२०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।






