काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार पोखरेलले आफ्नो र परिवारका सदस्यहरूको नाममा संयुक्त रूपमा ठूलो परिमाणमा अचल सम्पत्ति रहेको उल्लेख गरेका छन्। बुवा, आमा, मावली हजुरआमा र दिदीबहिनीको संयुक्त नाममा काठमाडौं, मोरङ र ललितपुरसहित सात स्थानमा करिब २० करोड ५० लाख रुपैयाँ बराबरको घरजग्गा रहेको विवरणमा उल्लेख छ।

ADVERTISEMENT

त्यस्तै, परिवारको नाममा २५ तोला सुन र १०० तोला चाँदी रहेको पनि उनले जनाएका छन्।

ADVERTISEMENT

आर्थिक विवरण अनुसार उनको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात छ भने डलर खातामा ५ अमेरिकी डलर रहेको उल्लेख गरिएको छ।

शेयर तथा लगानीतर्फ पनि परिवारको संयुक्त लगानी रहेको देखिएको छ। बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा पीएमएस होल्डिङ्समार्फत विभिन्न कम्पनीमा करिब ३० लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको उल्लेख छ। त्यस्तै, बुवाको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ तथा आमाको नाममा ५० लाख रुपैयाँ बराबरको बचत पत्र रहेको विवरणमा जनाइएको छ।

ADVERTISEMENT

उनले आफ्नो र आमाको नाममा गरी ७५ लाख रुपैयाँ ऋण रहेको पनि खुलाएका छन्। जसअनुसार हिमालयन बैंकमा २५ लाख र माछापुच्छ्रे बैंकमा ५० लाख रुपैयाँ कर्जा रहेको उल्लेख छ।

सवारी साधनतर्फ बुवा र आफ्नो नाममा दुईवटा गाडी रहेको विवरणमा उल्लेख गरिएको छ।

सम्पत्ति विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ र ऋण ७५ लाख रुपैयाँ रहेको छ। यसअनुसार खुद सम्पत्ति करिब २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको देखिएको छ।