काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक गरिएको विवरणमा उनले अचल सम्पत्ति, सुनचाँदी, बैंक बचत तथा ऋणबारे जानकारी दिएकी छन्।
सार्वजनिक विवरण अनुसार मन्त्रीको नाममा काठमाडौंको बूढानीलकण्ठमा करिब ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा र बारामा ५० लाख रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख गरिएको छ। यी सम्पत्तिको स्रोत श्रीमान्को आम्दानी रहेको उनले जनाएकी छन्।
उनसँग २५ तोला सुन रहेको विवरणमा उल्लेख छ, जसको स्रोत स्वआर्जन तथा पारिवारिक उपहार रहेको बताइएको छ।
त्यस्तै, विभिन्न बैंकमा गरी २४ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ, जसलाई पनि श्रीमान्को आयबाट संकलन भएको उल्लेख गरिएको छ।
मन्त्रीले एभरेष्ट बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको र सो ऋण २०८२ साल जेठमा लिइएको विवरणमा उल्लेख गरेकी छन्। साथै, उनको नाममा ४४ लाख रुपैयाँ बराबरको गाडी पनि रहेको जनाइएको छ।








