काठमाडौं। ललितपुरको कृष्ण मन्दिरमा भएको दोहोरो हत्यापछि अभियुक्तलाई साहसिक रूपमा नियन्त्रणमा लिएको भन्दै प्रहरी जवान शाहाना बोहरा पुरस्कृत भएकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी र प्रहरी प्रभाग मंगलबजारमा कार्यरत बोहरालाई नगद पुरस्कारसहित शुक्रबार सम्मान गरिएको हो।
चैत २५ गते साँझ करिब ७:४० बजे पाटनस्थित कृष्ण मन्दिर क्षेत्रमा सुमित नेम्बाङ (३३) र उनका भाइ सृजन नेम्बाङ (२५) माथि चक्कु प्रहार गरी हत्या गरिएको थियो। घटनापछि अभियुक्त सन्जीव नेपाली हतियारसहित फरार हुने क्रममा प्रहरी जवान बोहराले एक्लै लखेटेर नियन्त्रणमा लिएकी थिइन्।
घटनाको समयमा बोहरा मंगलबजार चोकमा ‘पिकेट’ ड्युटीमा खटिएकी थिइन्। चक्कु प्रहारको सूचना पाएपछि घटनास्थल पुगेकी उनले स्थानीयको जानकारीका आधारमा भाग्दै गरेका अभियुक्तलाई पछ्याइन्। करिब २०० मिटरसम्म लखेट्दै उनले अभियुक्तलाई रोक्न प्रयास गरिन्। अभियुक्तले आक्रमणको प्रयास गरे पनि उनले साहस नछाड्दै लाठी प्रहार गरी नियन्त्रणमा लिन सफल भइन्।
पछि अभियुक्त एक रेष्टुरेन्टभित्र पसेपछि बोहराले ढोका बन्द गरी थप प्रहरी टोलीलाई खबर गरेकी थिइन्। केही मिनेटमै पुगेको प्रहरी टोलीले घटनामा प्रयोग गरिएको चक्कुसहित सन्जीवलाई पक्राउ गरेको थियो।
ललितपुर प्रहरीका अनुसार बोहराको साहसिक कार्यले प्रहरी संगठनको छवि उच्च बनाएको भन्दै प्रहरी नियमावली २०७१ अनुसार अभिलेखमा जनिने गरी उनलाई नगद पुरस्कार प्रदान गरिएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्की र एसएसपी बोगटीले उनलाई संयुक्त रूपमा सम्मान गरेका हुन्।
एक वर्षअघि मात्रै प्रहरी सेवामा प्रवेश गरेकी बोहरा हाल तीन महिनादेखि प्रहरी प्रभाग मंगलबजारमा कार्यरत छिन्। उनको दरबन्दी भने प्रहरी प्रभाग चुनिखेलमा रहेको जनाइएको छ।










