काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय मुद्दती निक्षेप (कुनै निश्चित समय किटान गरेर बैंकिङ क्षेत्रमा राखिने बचत रकम) को हिस्सा घट्दै गएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संरचनामा उल्लेखनीय परिवर्तन आएको छ । जसले ग्राहकहरूको बचत गर्ने प्रवृत्तिमा परिवर्तन आएको देखिन्छ भने कुल निक्षेप संरचना मुद्धती निक्षेपको अनुपात घट्दै गएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार अनुसार हाल देशभर रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी ५४ संस्थाहरूको कुल निक्षेप रकम ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख रुपैयाँ पुगेको छ । यो कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ३९ दशमलव ९२ प्रतिशतमा झरेको छ । जबकि बचत खाताको हिस्सा ४३ दशमलव ९० प्रतिशत पुगेको छ । चल्ती खाताको हिस्सा छ दशमलव ७५ प्रतिशत र कल डिपोजिट खाताको हिस्सा आठ दशमलव ७४ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको मात्रै कुल निक्षेप ७० खर्ब १६ अर्ब २३ करोड ७० लाख रुपैयाँ रहेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ३९ दशमलव ८७ प्रतिशत रहेको छ भने बचत खाताको हिस्सा ४३ दशमलव ४४ प्रतिशत पुगेको छ । चल्ती खाताको हिस्सा सात दशमलव २४ प्रतिशत र कल डिपोजिट आठ दशमलव ६९ प्रतिशत रहेको छ । विकास बैंकतर्फ हेर्दा चालु आवको फागुन मसान्तसम्ममा कुल निक्षेप छ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ३६ दशमलव १८ प्रतिशत मात्र रहेको छ भने बचत खाताको हिस्सा ५२ दशमलव २४ प्रतिशत पुगेको छ । चल्ती खाताको हिस्सा दुई दशमलव ५२ प्रतिशत र कल डिपोजिट नौं प्रतिशत रहेको छ । यसैगरी फाइनान्स कम्पनीहरूको कुल निक्षेप पछिल्लो अवधिमा एक खर्ब ३७ अर्ब १५ करोड ४० लाख रुपैयाँ रहेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा अझै उच्च ५९ दशमलव ६९ प्रतिशत भए पनि अघिल्लो वर्षको तुलनामा घट्दो प्रवृत्तिमा छ । बचत खाताको हिस्सा २८ दशमलव ९१ प्रतिशत, चल्ती एक दशमलव शुन्य नौं प्रतिशत र कल डिपोजिट १० दशमलव २४ प्रतिशत रहेको छ ।
राष्ट्र बैैंकका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्म भने बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा मुद्दती निक्षेपको हिस्सा ५१ दशमलव ३७ प्रतिशत थियो, जुन अहिले उल्लेखनीय रूपमा घटेको छ । सो अवधिमा बचत खाताको हिस्सा ३५ दशमलव १६ प्रतिशत मात्र थियो । वाणिज्य बैंकहरूमा गत वर्ष मुद्दती निक्षेपको हिस्सा ५० दशमलव ७१ प्रतिशत रहेकोमा अहिले घटेर करिब ४० प्रतिशतमा झरेको छ । विकास बैंकहरूमा पनि ५४ दशमालव ८१ प्रतिशतबाट घटेर ३६ दशमलव १८ प्रतिशतमा पुगेको छ । फाइनान्स कम्पनीहरूमा समेत ६६ दशमलव ३० प्रतिशतबाट घटेर ५९ दशमलव ६९ प्रतिशतमा सीमित भएको छ ।
विश्लेषकहरूका अनुसार मुद्दती निक्षेप घट्नुका मुख्य कारणहरूमा ब्याजदरमा गिरावट, बचत तथा चल्ती खातामा सजिलो पहुँच, डिजिटल बैंकिङको विस्तार, र तरलता व्यवस्थापनमा आएको सहजता प्रमुख कारण रहेका छन् । ग्राहकहरू लामो समयका लागि पैसा थन्क्याउनु भन्दा आवश्यक पर्दा तुरुन्त निकाल्न सकिने बचत तथा कल डिपोजिट खातातर्फ आकर्षित भइरहेका छन् । बचतकर्ताहरुमा देखिएको यो प्रवृत्तिले बैंकहरूको दीर्घकालीन लगानी क्षमतामा असर पार्न सक्ने भए पनि छोटो अवधिमा तरलता व्यवस्थापनमा केही सहजता ल्याएको देखिन्छ । बैंकिङ क्षेत्रमा देखिएको यस परिवर्तनले वित्तीय बजारको संरचनामा दीर्घकालीन प्रभाव पार्ने संकेत देखिएको छ ।
बैंकिङ क्षेत्रमा रहेको निक्षेप रकममा मुद्धती निक्षेपको अनुपात (प्रशितमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)
मुद्धती निक्षेप घट्दा कस्तो असर पर्छ ?
नेपालको बैंकिङ प्रणालीमा पछिल्लो समय मुद्दती निक्षेपको हिस्सा लगातार घट्दै जाँदा यसको प्रभाव दीर्घकालीन लगानीका क्षेत्रहरूमा देखिन थालेको छ । बैंकिङ क्षेत्रको निक्षेप संरचनामा आएको यो परिवर्तनले विशेषगरी पूर्वाधार, जलविद्युत्, उद्योग तथा दीर्घकालीन परियोजनाहरूमा प्रत्यक्ष असर पार्न सक्ने बैंकिङ बिज्ञहरु बताउँछन ।
बिज्ञहरुका अनुसार मुद्दती निक्षेपलाई बैंकहरूको दीर्घकालीन स्रोतका रूपमा लिने गरिन्छ, जसको आधारमा बैंकहरूले लामो अवधिका कर्जा प्रवाह गर्छन् । “यस्तो स्रोत घट्दै जाँदा बैंकहरूको दीर्घकालीन लगानी गर्ने क्षमता पनि कमजोर हुने र जोखिम बढ्ने हुन्छ,” बिज्ञहरु भन्छन ।
मुद्दती निक्षेप घट्दा बैंकहरूमा स्थिर स्रोतको अभाव हुन्छ । बचत तथा चल्ती खाताबाट आएको रकम प्रायः अल्पकालीन हुन्छ, जुन जुनसुकै बेला झिक्न सकिने भएकाले बैंकहरू दीर्घकालीन कर्जा दिन हिच्किचाउँछन् । यसको प्रत्यक्ष असर जलविद्युत् आयोजना, ठूला उद्योग तथा पूर्वाधार परियोजनाहरूमा पर्ने देखिन्छ । नेपालजस्तो देशमा, जहाँ जलविद्युत्, सडक, पर्यटन पूर्वाधार जस्ता क्षेत्रमा ठूलो लगानी आवश्यक हुन्छ, त्यस्ता परियोजनाहरू बैंकिङ क्षेत्रकै दीर्घकालीन कर्जामा निर्भर हुन्छन् । तर स्थिर स्रोत घट्दा यस्ता क्षेत्रमा लगानी सुस्त हुन सक्ने बिज्ञहरु बताउँछन ।
बिज्ञहरु भन्छन, “मुद्दती निक्षेप घट्दा बैंकहरूलाई स्रोत व्यवस्थापनमा चुनौती बढ्न सक्छ । यसले कर्जाको ब्याजदरमा अस्थिरता ल्याउन सक्छ । जब दीर्घकालीन स्रोत कम हुन्छ, बैंकहरूले जोखिम कम गर्न कर्जाको अवधि छोट्याउने वा ब्याजदर बढाउने सम्भावना रहन्छ । यसले उद्योगी तथा व्यवसायीहरूको लागत बढाउने र लगानी उत्साह घटाउने अवस्था सिर्जना गर्न सक्छ ।”






