काठमाडौं। ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क नेपाल (जिन नेपाल) को सहकार्यमा “स्प्रिङ जुम्बा फेष्ट” उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रम चैत्र २२ गते शनिबार आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा हस्पिट्यालिटी पार्टनरका रूपमा रोयल ट्युलिप काठमाडौंको सहकार्य रहेको थियो। देशभरबाट आएका करिब ४०० फिटनेसप्रेमी तथा लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको आयोजकले जनाएको छ।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स र डिस्ट्रेस गतिविधिहरू सञ्चालन गरिएको थियो। सहभागीहरूलाई मनोरञ्जनसँगै स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले विभिन्न सत्रहरू आयोजना गरिएको थियो, जसले सक्रिय र सन्तुलित जीवनशैली अपनाउन प्रेरित गरेको बताइएको छ।
जिन नेपालले हाल देशभर ५० भन्दा बढी लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूलाई समेट्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ। कार्यक्रममा निशा श्रेष्ठ, ट्रान्क्यूलिटी स्पाकी प्रमुख मानव संसाधन तथा वित्त अधिकृत तथा जिन नेपालको सक्रिय सदस्य, ले यस्ता कार्यक्रमहरूले मानिसहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने बताइन्। उनले यस्ता सहकार्यहरूमा सहभागी हुन पाउँदा खुशी लागेको पनि व्यक्त गरिन्।
यसै क्रममा आगामी बेशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौँ स्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना गरिने जानकारी दिइएको छ। आयोजकका अनुसार आगामी दिनहरूमा पनि ट्रान्क्यूलिटी स्पा र जिन नेपालबीच वेलनेश संस्कृति प्रवर्द्धनका लागि सहकार्यलाई निरन्तरता दिइनेछ।







