काठमाडौैं । सरकारले किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । राष्ट्र बैंकको १७ कार्यकारी निर्देशकमध्ये सातौं वरीयताका पण्डितलाई नियुक्त गरिएको हो ।

राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा सरकारले पण्डितलाई नियुक्त गरेको हो ।
दुईजनालाई डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि अहिलेका लागि सरकारले पण्डितलाई मात्रै डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चारजनाको नाम सिफारिस गरे पनि सरकारले एकजनामात्रै डेपुटी गभर्नर नियुक्त गरेको छ । स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले पनि चारजनाको नाम नै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए ।

ADVERTISEMENT

तर, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अहिले एकजनालाई मात्रै नियुक्त गर्ने बताएपछि पण्डित मात्रै डेपुटी गभर्नर बनेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री बालेन राष्ट्र बैंकमा एकजना डेपुटी गभर्नर राख्नुपर्ने पक्षमा छन् । ‘नेपाल राष्ट्र बैंक ऐनलाई संशोधन गरेर एकजनामात्रै डेपुटी गभर्नर राख्न सकिने प्रस्ताव पनि आएको छ, यति त्यस्तो भएन भने बृहत छलफल गरेपछि नियुक्त गरिन सकिन्छ,’ स्रोतले भन्यो, ‘वरीयता छुट्याउन पनि अहिले एउटालाई मात्रै नियुक्त गरेको पनि हुन सक्छ ।’

ADVERTISEMENT

राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ (ग) मा दुईजना डेपुटी गभर्नरको व्यवस्था गरिएको छ भने डेपुटी गभर्नरको नियुक्तिको विषय दफा १६ मा व्यवस्था गरिएको छ । पण्डित तनहुँका हुन् ।

ADVERTISEMENT

अर्थमन्त्री वाग्लेले पनि किरणले राष्ट्र बैंकमा विभिन्न महत्त्वपूर्ण विभाग सम्हालिसकेको, राष्ट्र बैंकको प्रवक्ता बनिसकेको र योग्यता र क्षमताले पनि योग्य व्यक्ति र वरीयतामा पनि सातौं नम्बरमा रहेको बताएपछि बालेन उनलाई डेपुटी गभर्नरमा नियुक्त गर्न तयार भएको बुझिएको छ । अहिले पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन् ।