काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लंघन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ ।

पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लंघन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

ADVERTISEMENT

अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गरेका छन् । ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लंघन गरेको छ, सो विषयमा जानकारी दिने गरेको बताइएको छ ।

ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ ।

ADVERTISEMENT

अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार एकजना चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौँ सार्वजनिक सवारीसाधनका चालकहरू मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेको जनाएको छ । पक्राउ परेका चालकहरूलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नाका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, सडकका डिभाइडरमा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको छ ।

लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत सोमबार बिहान गरेको सप्राइज चेकिङका क्रममा मापसे सेवन गरी सवारीसाधन चलाउने १२ जना चालकलाई कारबाहीमा परेका छन् ।
उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङका मापसे सेवन गरी सवारीसाधन चलाउने भाडा बस दुई, विद्यालय बस एक, भाडा मिनी ट्रक दुई, भाडा सुमो एक, भाडा माइक्रो एक, भाडा टेम्पो एक, पर्यटक भ्यान एक र निजी कार तीन वटा गरी १२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।