बुटवल। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले अध्यक्ष चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध मुद्दा अघि बढाएको हो।

सरकारी वकिल कार्यालयका अनुसार ‘भैरहवा–१५’ (नाम परिवर्तन) बाट प्राप्त किटानी जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो। पीडितले गत २०८१ असोज ६ गते नै जाहेरी दिएको बताइएको छ।

मुद्दा दर्ता भएसँगै अध्यक्ष चौधरीको पदसमेत जोखिममा परेको छ। यसैबीच, अभियुक्तमध्ये सन्तकुमार यादव भने हाल थुनछेकका लागि कारागारमा रहेको जनाइएको छ। अन्य आरोपितमाथि पनि कानुनी प्रक्रिया अघि बढिरहेको छ।

घटनाबारे प्रतिक्रिया दिँदै अध्यक्ष चौधरीले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। उनले आफूलाई नियोजित रूपमा फसाइएको दाबी गर्दै सत्य स्थापित गर्न कानुनी रूपमा लड्ने बताएका छन्।

प्रहरी र सरकारी वकिलको कार्यालयले घटनासम्बन्धी थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएका छन्।