काठमाडौं । पहिलोपटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ। २९ वर्षीया सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् ।

वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिइन्। उनी २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी थिइन्। छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नुपर्‍यो। भूमिहीन वादी समुदायका लागि शिक्षा पाउनु अधिकार नभई ठूलो संघर्ष र उपलब्धिको विषय थियो। अहिले पनि छँदै छ।

ADVERTISEMENT

बालेन्द्र शाह सरकारमा सीतासहित पाँच महिला मन्त्री बनेका छन् । जसमा सोविता गौतम, प्रतिभा रावल, निशा मेहता, गीता चौधरी र सीता वादी छन् ।

सीता वादी पदबहाली गर्ने क्रममा भाव विह्वल भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शपथ गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेकी उनी कर्मचारीले स्वागत गर्नुअघि नै भक्कानिएकी हुन् ।

ADVERTISEMENT

समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी उनी वादी समुदायको पहिलो मन्त्री हुन् । उनी भक्कानिएपछि स्वागतका लागि तयार बसेका कर्मचारी केहीबेर स्तब्ध बनेका थिए । सीताले आँशु पुछ्दै सम्हालिएर स्वागत ग्रहण गरिन् । आफूले सोच्दै नसोचेको पद पाएपछि सीता निकै भक्कानिएको कर्मचारीहरू बताउँछन् ।