काठमाडौं। भारतले रक्सौल–काठमाडौं रेलमार्ग परियोजनाको ‘फाइनल लोकेसन सर्भे’ सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको जनाएको छ। भारतीय पत्रिका द इन्डियन एक्सप्रेस का अनुसार उक्त परियोजना कार्यान्वयनतर्फ अगाडि बढ्ने संकेत देखिएको छ।

१३६ किलोमिटर लामो प्रस्तावित रेलमार्गले भारतको सीमावर्ती सहर रक्सौललाई नेपालको राजधानी काठमाडौंसँग जोड्नेछ। यस परियोजनाले दुई देशबीचको आवागमन सहज बनाउनुका साथै आर्थिक विकास र व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतको माथिल्लो सदन राज्यसभामा एक प्रश्नको लिखित जवाफ दिँदै रेलमन्त्री अश्विनी वैष्णव ले सन् २०२६ मार्च २० मा उक्त जानकारी दिएका हुन्।

ADVERTISEMENT

उनका अनुसार रक्सौल–काठमाडौं (पशुपतिनाथ क्षेत्र) जोड्ने रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भइसकेको छ र डीपीआर तयार भइसकेको छ। उनले पशुपतिनाथ धाम काठमाडौंमा अवस्थित रहेको र यसको नजिकको रेलवे स्टेशन रक्सौल रहेको उल्लेख गरेका छन्।

ADVERTISEMENT

यसअघि सन् २०१८ अप्रिल ७ मा नेपाल र भारतबीच संयुक्त विज्ञप्ति जारी गर्दै रेल सञ्जाल विस्तार गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्ने योजना अघि बढाइएको हो।

ADVERTISEMENT

परियोजनाको सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने बताइएको छ। यस परियोजना कार्यान्वयनमा आएपछि नेपाल–भारतबीचको भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।