काठमाडौं । पछिल्लो समय पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण विकसित भएको तनाव र पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू क्रमशः विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा नेपालमा विभिन्न प्रकारका एक लाख ४७ हजार ८६४ वटा विद्युतीय चुलो आयात भएका छन्। यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको छ।

यस अवधिमा एक लाख चार हजार ७१७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको तथ्यांकले देखाउँछ। त्यस्तै, इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ, जसअन्तर्गत ४२ हजार २१८ वटा चुलो आयात गरिएको छ। इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९२९ वटा मात्र आयात भएका छन्।

ADVERTISEMENT

आर्थिक दृष्टिले हेर्दा, यी चुलो आयातका लागि ठूलो रकम विदेशिएको छ। आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ। यसमध्ये इन्डक्सन चुलोको मात्र मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको मूल्य सात करोड ६७ लाख सात हजार रुपैयाँ छ।

ADVERTISEMENT

काठमाडौँको महाबौद्धमा विद्युतीय उपकरणहरुको होलसेल बिक्री गर्दै आएका किरण श्रेष्ठका अनुसार अन्य समयमा पनि यस्तो विद्युतीय चुलोको बिक्री भई रहने भए पनि अहिलेको अवस्थामा यसको बिक्री ५० देखि ७० प्रतिशत बढेको छ ।

ADVERTISEMENT

‘हामीले पहिले पनि बिक्री गर्दै आएका हौं, तर अहिले बजारमा ग्यासको अभाव हुने कुराले गर्दा होला अहिले इन्डक्सन र इन्फ्रारेड चुलोको माग बढेको छ,’ उनले भने । यी विद्युतीय चुलोको आयातबाट सरकारले चार करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको पनि विभागले जनाएको छ।