काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै सम्पन्न निर्वाचनमार्फत जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्व पूरा गर्न सबै पक्षलाई आह्वान गरेका छन्।


शनिबार शीतलनिवासमा आयोजित मधेसी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवस कार्यक्रममा बोल्दै उनले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका संघर्ष र आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताए।
उनले आन्दोलनहरूले अभिव्यक्त गरेको स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना सबै नेपालीको साझा चाहना भएको उल्लेख गर्दै त्यसलाई आत्मसाथ गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिएको देश भएको भन्दै उनले यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए।
राष्ट्रपतिले मधेसी आयोगले पछिल्ला सात वर्षमा समुदायको पहिचान र अधिकारका लागि आधार तयार पारेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
ऐतिहासिक रूपमा मधेसी समुदायलगायत केही समूह राजनीतिक, सामाजिक र आर्थिक अवसरबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानता अन्त्य गर्ने उद्देश्यले आयोग स्थापना गरिएको उनको भनाइ थियो।

ADVERTISEMENT


संविधानले आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने अधिकार दिएको उल्लेख गर्दै उनले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मधेसी समुदायको हकहित संरक्षण, प्रवर्द्धन र सशक्तीकरणका लागि महत्वपूर्ण सिफारिसहरू समेटिएको बताए।

ADVERTISEMENT