काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि यस्तै प्रकृतिको मौसम रहने अनुमान गरिएको छ। मधेश प्रदेशका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बादल रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






