काठमाडौं । महालक्ष्मी विकास बैंक ले दिगो बैंकिङ प्रवर्द्धन र वातावरण संरक्षणप्रति प्रतिबद्धता जनाउँदै पोखरामा दुईदिने कार्यशाला तथा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत फागुन २४ र २५ गते पोखरा मा कार्यशाला आयोजना गरेको हो। कार्यक्रमको समापनका क्रममा ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण फेवाताल किनारमा सामूहिक पदयात्रा गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यशालामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बैंकको वित्तीय अवस्था, हालै सम्पन्न निर्वाचनपछि देखिएको सकारात्मक आर्थिक वातावरण तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीबारे विश्लेषण गरिएको थियो।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यास अपनाउनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइएको थियो।

“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसाथ गर्दै आएको महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।