काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले तयार पारेको प्रतिवेदनको निचोड भए पनि सार्वजनिक गर्ने बताएकी छन्।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन बुझ्दै उनले प्रतिवेदनको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिइन्।
“अब यसको अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढ्छ। साथै सार्वजनिक गर्ने विषयमा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ,” आयोगका पदाधिकारीहरूसँग उनले भनिन्।
प्रधानमन्त्री कार्कीले प्रतिवेदन आफू र गृहमन्त्रीले अध्ययन गरेपछि मन्त्रिपरिषद्मा पेस गरिने पनि बताइन्।
आयोगका सदस्यहरूको मेहनतको प्रशंसा गर्दै उनले सुरुवातमा तोकिएको समयावधि स्रोत–साधनका कारण पर्याप्त नभएको उल्लेख गरिन्। पछि समय थप्नुपर्ने अवस्था आए पनि आयोगले जिम्मेवारीपूर्वक काम सम्पन्न गरेकोमा उनले धन्यवाद दिइन्।
“न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईंहरूको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ। आ–आफ्नो क्षेत्रमा तपाईंहरूको प्रख्याति छ। त्यसको प्रतिबिम्ब प्रतिवेदनमा अवश्य पनि देखिएको छ भन्ने विश्वास छ,” प्रधानमन्त्री कार्कीले भनिन्।
उनले आयोगले तथ्यलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै “दूधको दूध, पानीको पानी छुट्याएर” प्रतिवेदन दिएकोमा आफू विश्वस्त रहेको समेत जानकारी दिइन् ।
भदौ २३–२४ घटनाबारे आयोगको प्रतिवेदनको निचोड सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको घोषणा








