सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापा ले गएराति आयोजित एक कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्।

सिंहकै निवासमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायत नेताहरू सहभागी थिए।

ADVERTISEMENT

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा ४ हजार ३ सय २७ मत प्राप्त गरी निर्वाचित भएका थिए। तर २०७९ सालको स्थानीय तह निर्वाचनमा राजपाको विभाजनपछि लोसपाबाट मेयरका उम्मेदवार बनेका उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए।

यसअघि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन्।

ADVERTISEMENT