काठमाडौं। बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर मनाइने ग्लोबल मनी विक (Global Money Week–GMW) को २०२६ संस्करण नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित आयोजना गरिने भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास संगठन Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष मार्च महिनामा मनाइँदै आएको यो अभियानले हालसम्म विश्वका १७६ भन्दा बढी देशमा करिब ७ करोड बालबालिका तथा युवासम्म पहुँच बनाइसकेको छ। वित्तीय चेतना विस्तार गर्दै युवाहरुलाई पैसाको सही व्यवस्थापन, बचत, लगानी, डिजिटल वित्तीय सेवा र जिम्मेवार उपभोगबारे जानकारी दिनु यसको मुख्य उद्देश्य रहेको छ।

नेपालमा ग्लोबल मनी विक २०२६ आगामी मार्च १६ देखि २२ (चैत २ देखि ८ गते) सम्म ‘स्मार्ट मनी टक्स’ नाराका साथ सञ्चालन गरिनेछ। यस नाराले युवाहरुलाई पैसासम्बन्धी विषयमा खुला संवाद गर्न, आफ्ना जिज्ञासा राख्न र वित्तीय निर्णयबारे सचेत बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार अभियानका क्रममा विद्यालय, कलेज तथा विश्वविद्यालयस्तरमा अन्तरक्रियात्मक कार्यक्रम, वित्तीय सचेतना र्‍याली, वक्तृत्वकला प्रतियोगिता, डिजिटल वित्तीय साक्षरता कक्षा, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा प्रशिक्षणलगायत विविध कार्यक्रम आयोजना गरिनेछन्। वित्तीय प्रणालीमा आबद्ध बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्था, बीमा कम्पनी तथा पूँजीबजारसँग सम्बन्धित संस्थाहरुको सक्रिय सहभागिता रहने जनाइएको छ।

केन्द्रीय बैंकले सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, शैक्षिक संस्था, युवा क्लब र अन्य सरोकारवाला निकायलाई समेत अभियानमा सहभागी भई आफ्ना कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण निकायलाई समन्वयात्मक ढंगले काम गर्न आह्वान गरिएको छ।

राष्ट्र बैंकले आयोजना गरिने कार्यक्रमहरुको विवरण तथा प्रतिवेदन गभर्नरको कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा उपलब्ध गराउन अनुरोध गरेको छ। यस अभियानमार्फत युवाहरुमा बचत गर्ने बानी विकास गर्नुका साथै जिम्मेवार ऋण उपयोग, डिजिटल कारोबारको सुरक्षित प्रयोग, ठगीबाट जोगिने उपाय र दीर्घकालीन आर्थिक योजना निर्माणबारे सचेतना फैलाइनेछ।

नेपालमा ग्लोबल मनी विक चौथो पटक विशेष रूपमा मनाउन लागिएको हो। विगतका वर्षहरूमा पनि विद्यालय र कलेजस्तरमा भएका कार्यक्रमले सकारात्मक प्रभाव पारेको राष्ट्र बैंकको भनाइ छ।

यस अभियानले नयाँ पुस्तालाई आर्थिक निर्णयमा आत्मनिर्भर बनाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने र समावेशी वित्तीय प्रणाली निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। वित्तीय साक्षरता आजको डिजिटल युगमा अत्यन्त आवश्यक विषय बनेकाले यस्ता अभियानले दीर्घकालीन रूपमा मुलुकको आर्थिक स्थायित्वमा योगदान दिने विश्वास व्यक्त गरिएको छ।