काठमाडौँ। भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई)ले प्रमुख नीतिगत ब्याजदर (रेपो दर) परिवर्तन नगरी यथावत् राख्ने निर्णय गरेको छ। शुक्रबार बसेको मौद्रिक नीति समितिको बैठकले सर्वसम्मत रूपमा रेपो दर ५.२५ प्रतिशतमै कायम राखेको हो।

अमेरिका र युरोपसँग भएका तथा हुन लागेका व्यापार सम्झौताले भारतीय अर्थतन्त्र र बजारमा देखिँदै आएको दबाब कम हुने अपेक्षासँगै केन्द्रीय बैंकले यो निर्णय लिएको बताइएको छ। युरोपेली संघसँग स्वतन्त्र व्यापार सम्झौता टुंगिनु र अमेरिकासँग ट्यारिफसम्बन्धी सहमति मार्चसम्म अन्तिम रूप लिन सक्ने सम्भावनाले भारतीय निर्यातमा लाग्ने अमेरिकी शुल्क घट्ने संकेत गरेको छ, जसले समग्र अर्थतन्त्रलाई सकारात्मक असर गर्ने अनुमान गरिएको छ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले पछिल्लो नीतिगत बैठकपछि बाह्य चुनौतीहरू केही बढे पनि व्यापार सम्झौताहरूले भविष्यको आर्थिक परिदृश्य उत्साहजनक बनाएको बताए। उनका अनुसार हालको नीतिगत ब्याजदर उपयुक्त रहेको छ र मुद्रास्फीति नियन्त्रणमै रहेको छ।

ADVERTISEMENT