गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’का रूपमा परिचित हुँदै गएको छ । पछिल्ला वर्षहरूमा यहाँका किसानले सुन्तला उत्पादन निरन्तर बढाउँदै लगेका छन् । यस वर्ष मात्रै सिगानामा सुन्तला बिक्रीबाट करिब चार करोड रुपैयाँ भित्रिएको छ ।

गत वर्ष पाँच लाख रुपैयाँमा सुन्तला बगैँचा धादिङका व्यापारीलाई जिम्मा लगाएका किसान अनन्त खड्काले यस वर्ष भने सात लाख ५० हजार रुपैयाँमा बगैँचा एकमुष्ट बिक्री गरेका छन् । उत्पादनसँगै मूल्यसमेत राम्रो पाएकामा खुसी व्यक्त गर्दै खड्काले आफूजस्तै एक सयभन्दा बढी किसानले एक लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गरेको बताए ।

ADVERTISEMENT

सिगानामा उत्पादन हुने सुन्तलाको तथ्याङ्क वडा कार्यालयले नभई गाउँकै गणेश कृषि सहकारीले संकलन गर्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा यसको राम्रो माग छ ।

ADVERTISEMENT

स्थानीय किसानले २०५० सालयता कोदो बारी र धान खेत रूपान्तरण गर्दै व्यावसायिक सुन्तलाखेती सुरु गरेका हुन् । हाल सिगानामा सुन्तलाखेती तीव्र रूपमा विस्तार भइरहेको छ । बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोट क्षेत्रमा सुन्तलाका नयाँ बगैँचा थपिँदै गएका छन् ।

गत वर्ष सुन्तला बिक्रीबाट तीन करोड ५० लाख रुपैयाँ आम्दानी गरेका किसानले यस वर्ष चार करोड रुपैयाँ भित्र्याएका छन् । समग्र उत्पादनमा गत वर्षको तुलनामा करिब ५० लाख रुपैयाँ बराबरको वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले जानकारी दिए । उनका अनुसार सहकारीमार्फत सुन्तलाखेती विस्तार गरिँदै अनुदानमा बिरुवासमेत वितरण गरिएको छ ।

ADVERTISEMENT

यस वर्ष मौसम अनुकूल र रोगको प्रकोप नदेखिएकाले उत्पादन बढेको जनाइएको छ । यहाँ उत्पादन भएका सुन्तलाको स्तरीकरण गरी फरक–फरक मूल्यमा पोखरालगायतका बजारमा पठाइने गरिएको छ ।

गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काका अनुसार गत वर्षदेखि सुन्तलाको व्यवस्थित तथ्याङ्क संकलन थालिएकाले यस वर्ष चार करोडभन्दा बढी रकम गाउँमा भित्रिएको यकिन भएको हो ।

हाल सिगानामा २५० भन्दा बढी किसानको साना तथा ठूला सुन्तला बगैँचा रहेका छन् । यस वर्ष मात्रै ४०० नयाँ बोटले उत्पादन दिन थालेका छन् । साविकका ३, ४, ५ र ७ नम्बर वडाका क्षेत्रमा सुन्तला उत्पादन राम्रो हुने गरेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले बताए ।

स्थानीय किसान टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायतले पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार, मलजल र व्यवस्थापन सुधारसँगै सिगानाको सुन्तलाखेती झनै फस्टाउँदै गएको छ ।