राँझा (बाँके) समयमा भुक्तानी नहुँदा बाँके जिल्लाका साना निर्माण व्यवसायी गम्भीर समस्यामा परेका छन्। जिल्लामा निर्माण व्यवसाय गर्दै आएका करिब १० प्रतिशत साना व्यवसायी हरेक वर्ष भुक्तानी समस्याका कारण पेसाबाट पलायन हुन थालेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताएका छन्।
उनका अनुसार सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये करिब १० प्रतिशत व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगेका छन्। साना निर्माण व्यवसायीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएकाले अब राज्यले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको अध्यक्ष उपाध्यायको भनाइ छ।
“समयमै भुक्तानी नहुँदा निर्माण व्यवसायीले कर्जा तिर्न नसक्ने अवस्था आएको छ, जसका कारण नयाँ काम लिनसमेत कठिन भएको छ,” उनले भने, “मन्त्रालयदेखि विभिन्न सरकारी निकायसम्म पटक–पटक भेटघाट गर्दा आश्वासन त पाइन्छ, तर भुक्तानी भने अझै भएको छैन। यस विषयमा सरकारले तत्काल ध्यान दिनुपर्छ।”
जिल्लामा हाल आठदेखि १० अर्ब रुपैयाँ बराबरका विकास निर्माणका काम भइरहेका छन्। तर ठेक्का सम्झौताअनुसार काम सम्पन्न भइसकेपछि पनि सम्बन्धित निकायबाट निकासा नहुँदा निर्माण क्षेत्र नै धराशायी बन्दै गएको व्यवसायीहरूको गुनासो छ।
विकास निर्माणमा संलग्न व्यवसायी आफैँ घरबार छोडेर पलायन हुनुपर्ने अवस्था आउनु राष्ट्रिय अर्थतन्त्रका लागि सुखद संकेत नभएको अध्यक्ष उपाध्यायले बताए।
“निर्माण व्यवसायीले आफ्नै पुँजी मात्र होइन, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर विकासका योजना अगाडि बढाउँछन्,” उनले भने, “तर काम सम्पन्न गरेपछि पनि समयमा भुक्तानी नहुँदा व्यवसायी दोहोरो मारमा परिरहेका छन्।”
समयमै भुक्तानी नपाउँदा बैंकको ब्याज र किस्ता तिर्न नसकी व्यवसायी कालोसूचीमा पर्ने जोखिम बढेको उनको भनाइ छ। साथै बजेट अभावका कारण निर्माण कार्य रोकिएका अवस्थामा समेत ढिलासुस्ती देखिँदा सरकारले उल्टै व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने गरेकोप्रति उनले आपत्ति जनाएका छन्।






