काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

क्लिंकर घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि आइतबार विशेष अदालतमा मुद्दा चलाएको हो ।

अख्तियारले उनीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्म अनियमितता गरेको आरोप लगाएको छ । सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख भ्रष्टाचार गरेको आरोप छ भने अरुमाथि ४६ करोड ५२ लाख भ्रष्टाचार गरेको आरोप छ ।

पौडेल नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका अध्यक्ष हुन्् । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् । पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक पनि थिए । ०७५ पुस २३ देखि ०७८ पुस २२ सम्म कार्यकारी बनेका पौडेलकै पालामा मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

सिलगुढी झापा पेट्रोलियम पाइपलाइनको डीपीआर, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइनको सम्झौता, झापा, जनकपुर, दाङ र भैरहवामा हवाई इन्धन डिपो लगायतको सुरुआत गरेका थिए ।