काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत स्याङ्जा १ बाट बैंकर तथा कृषि अभियन्ता भरत ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसले ढकाललाई उनलाई स्याङ्जा १ बाट उम्मेदवार बनाएको हो । ढकाल बैंकिङ र कृषि क्षेत्रका अनुभवी तथा परिचित व्यक्तित्व हुन् । उनी मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्ष भइसकेका छन् ।

बैंकिङ क्षेत्रमा दीर्घ अनुभव र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको कृषि व्यवसायमा संलग्नताका कारण ढकाललाई आर्थिक विकासमुखी उम्मेदवारका रूपमा हेरिएको छ ।

ADVERTISEMENT

ढकालकै सक्रिय पहलमा स्याङ्जाबाट मुक्तिनाथ विकास बैंकको स्थापना भएको थियो । स्थानीयस्तरबाट सुरु भएको सो बैंक हाल राष्ट्रियस्तरको विकास बैंकका रूपमा विस्तार भइसकेको छ । त्यसैगरी, किसान र कृषि व्यवसायलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित मुक्तिनाथ कृषि कम्पनीको स्थापना पनि ढकालकै पहलमा भएको हो ।

ADVERTISEMENT

काँग्रेस नेतृत्वले स्याङ्जा–१ मा आर्थिक विकास, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणलाई प्राथमिक एजेन्डा बनाउँदै ढकाललाई उम्मेदवार बनाएको बताइएको छ । बैंकिङ तथा कृषि दुवै क्षेत्रमा व्यावहारिक अनुभव भएकाले ढकालले क्षेत्रको समग्र आर्थिक रूपान्तरणमा भूमिका खेल्न सक्ने कांग्रेसको विश्वास छ ।

ADVERTISEMENT

यसअघिको निर्वाचनमा स्याङ्जा १ बाट कांग्रेस जिल्ला सभापति राजु थापाले एमाले नेता नारायण मरासिनीलाई पराजित गर्दै विजय हासिल गरेका थिए । यसपटक भने कांग्रेसले नयाँ अनुहारका रूपमा ढकाललाई अघि सारेको हो । ढकालले निर्वाचित भएमा निर्वाचन क्षेत्रको विकास र कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने बताए ।