भोजपुर । भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ।

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढेपछि फेरी पटक–पटक बन्द हुने गरेको छ। बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा नागरिक झोलुंगे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य छन्।

पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयवासीका अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि भए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन।

ADVERTISEMENT

हिउँदको समयमा बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। फेरीले तत्कालका लागि केही राहत दिए पनि दीर्घकालीन समाधान नभएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पटक पटक बताउँदै आएका छन्। उनका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ।

ADVERTISEMENT

ADVERTISEMENT

तस्बिरहरु : नेपाल फोटो लाइब्ररी