काठमाडौँ। विश्व चर्चित नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथनोग्राफिक चलचित्र महोत्सवमा छनोट भएको छ। निर्देशक गणेश पाण्डेद्वारा निर्देशित उक्त वृत्तचित्र अन्तर्राष्ट्रिय स्तरको महोत्सवमा छनोट हुनुलाई नेपाली वृत्तचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

अमेरिकास्थित चलचित्रको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेसनल रिसोर्सेज ले ‘को-हजबेन्ड’ महोत्सवका लागि छनोट भएको जानकारी दिएको हो। निर्देशक पाण्डेका अनुसार आगामी अप्रिल २ देखि ५ तारिखसम्म पेरिसमा आयोजना हुने महोत्सवमा सहभागी हुन आयोजकसँग औपचारिक पत्राचार भइसकेको छ।

ADVERTISEMENT

यसअघि पनि ‘को-हजबेन्ड’ ले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ। अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा नेपालले प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित महोत्सवहरूमा छनोट हुनुले नेपाली वृत्तचित्रको पहिचान थप बलियो बनेको निर्देशक पाण्डेले बताए।

ADVERTISEMENT

३५ मिनेटको उक्त वृत्तचित्र बहुपति प्रथामा आधारित रहेको छ, जसको छायाङ्कन कर्णाली प्रदेशको हुम्ला जिल्लामा गरिएको हो। “घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती विवाह गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका केही हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई पहिलोपटक पर्दामा उतारेको हुँ,” निर्देशक पाण्डेले भने।

उक्त वृत्तचित्रले अन्तर्राष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज, संस्कृति र सामाजिक संरचनाबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय स्तरमा चलचित्रको दायरा बढाउने छ।