काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७–२८ बोलाइएको विशेष महाधिवेशन बोलाउन माग गरेको छ । विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको पनि जनाएको छ ।

‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। यो कसैको छनोटको विषय होइन, रहेन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यबस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ । अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन। विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो,’ विशेष महाधिवेशन पक्षले भनेको छ ।

ADVERTISEMENT

शुक्रवार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेश पक्षधर नेता सुवास पोखरेलले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताए । ‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो । हामी पार्टी विभाजनको पक्षमा छैनौं,’ उनले भने ।

ADVERTISEMENT

उनले एकता र विश्वास एकैपटक जगाउन आग्रह गर्दै केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए ।

‘हामीले कार्यतालिका सार्वजनिक हुँदै स्पष्ट चेतावनी दिएका थियौं, ूघोषित समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा हुने छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहने छ र सोको कार्यान्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य बन्नेछ,’ विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ADVERTISEMENT

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेका छन् ।

कांग्रेस संस्थापन पक्षले पार्टीको संस्थागत निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएको छ । नेता शेखर कोइरालाले संस्थागत निर्णयबिना बोलाइएको भेलामा आफ्नो सहमति नहुने प्रतिक्रिया दिएका छन् । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज ३ बजेका लागि बोलाइएको छ ।