काठमाडौं । न्यायाधीशहरूलाई लक्षित गरी श्रृंखलाबद्ध धम्की दिएको आरोपमा ललितपुरको गोदावरी नगरपालिका निवासी राजकुमार तिमल्सिना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई पोखराबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले पछिल्लो समय आफूले सञ्चालन गरेको भनिएको ‘डार्क फाइल नेपाल अभियान’ नाम दिएर विभिन्न न्यायाधीशहरूलाई धम्की दिने गतिविधि गर्दै आएको आरोप छ।

ADVERTISEMENT

प्रहरी स्रोतका अनुसार तिमल्सिनाले सामाजिक सञ्जाल तथा अडियो सामग्रीमार्फत न्यायाधीशहरूको चरित्र हत्या गर्ने, डर त्रास सिर्जना गर्ने र दबाब दिने उद्देश्यले सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

यसअघि पनि तिमल्सिना विवादित गतिविधिका कारण समाचारमा आएका थिए। केही समयअघि सार्वजनिक भएको ‘डार्क फाइल’ नामक अडियो सामग्री नक्कली भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरेको थियो। उक्त अडियो प्रकरणमा समेत उनीमाथि झुटा तथा भ्रामक सामग्री तयार गरी सार्वजनिक गरेको आरोप लागेको थियो।

प्रहरीले तिमल्सिनामाथि विद्युतीय कारोबार ऐन तथा आपराधिक धम्कीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ। हाल उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

ADVERTISEMENT