काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन्द्र साह बालेनबीचको सहमतिलाई सेयर बजारले हरियो झन्डा देखाएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । अघिल्लो साता घटेर बन्द भएको नेप्से आज उच्च अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा बन्द भएको छ । यसअघि २५ सयको विन्दुमा झरेको बजार पुनः पुरानै विन्दुमा फर्किएको हो ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस सभापति शेरवहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीको संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग गरेका संवादले मुलुक चुनावतर्फ अघि बढेको छ । सँगै रवि र बालेनबीच भएको एकताले राजनीतिक युवापुस्तामा नयाँ खालको आशा जनाएको छ ।
राजनीतिक माहोल सकारात्मक बनेपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकाएक हरियाली बनेको छ । जेनजी आन्दोलनपछि सुस्ताएको बजारले नयाँ खालको आशाको सञ्चार खोजिरहेको थियो । राजनीतिक माहोल अन्योल थियो। तर, यी सबै सकारात्मक बन्दा सेयर बजारले सकारात्मक बनेको देखिन्छ । त्यसमा पनि पुस महिनामा सधैं सेयर बजार बढ्ने गर्छ ।
नेप्से सूचकसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । ३२८ कम्पनीको एक करोड ३४ लाख कित्ता सेयर किनबेचहुँदा पाँच अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । युनियन हाइड्रो पावर,मन्जुश्री फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, यसवाई प्यानेल नेपाल र शिवम् सिमेन्टको कारोबार बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा अधिकांश हाइड्रो पावरकम्पनी रहेको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेका छन् । जसमा वाणिज्य बैंकको १.६६ प्रतिशत, विकास बैंकको २.२८ प्रतिशत, फाइनान्स समूह, होटल तथा टुरिजम, जलविद्युत समूह, लगानीगत समूह, लाइफ इन्स्योरेन्स समूह, उत्पादनमूलक समूह र माइक्रोफाइनान्स समूहको सूचक उच्च अंकले बढेकाछन् ।





