काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग एकता वा गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत जारी गरेको भिडियो सन्देशमा यो अडानलाई दोहोर्‍याउँदै पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूलाई अफवाहमा नपर्न आग्रह गरेका छन्।

साम्पाङको भनाइमा, श्रम संस्कृति पार्टीले नेपालको मौलिक विचार र माटोको राजनीतिमा आधारित स्वतन्त्र यात्रा जारी राख्ने छ। उनले भनेका छन्, “हामी कसैसँग मिसिने वा मिसाउने राजनीति गर्दैनौं। यो पार्टी देशको ढुंगा र माटोको राजनीति गर्न बनेको हो।”

यो वक्तव्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच हालै भएको सातबुँदे सहमतिपछि आएको हो। उक्त सहमतिले वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणको चर्चा चलिरहेका बेला साम्पाङले रवि-बालेन सहकार्यलाई विदेशी चलखेलको संज्ञा दिँदै आफ्नो पार्टीको स्वतन्त्रता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

वैकल्पिक र स्वतन्त्र छविका नेताहरूबीच एकता वा सहकार्यको चर्चा चलिरहेका बेला हर्क साम्पाङको यो घोषणाले नयाँ राजनीतिक शक्तिहरूको सम्भावित ध्रुवीकरणमा नयाँ पक्ष उजागर गरेको छ। बालेन्द्र साह (बालेन) भने हर्क साम्पाङलाई  संगै लैजानुपर्छ भन्नेमा पहिले देखिनै भन्दै आहिरहेका छन्।