काठमाडौं। ठमेलस्थित क्यासिनो वाल्डो (वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट) का अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन्। चिनियाँ नागरिक रहेका उनलाई अवैध रूपमा क्यासिनो सञ्चालन तथा आर्थिक ठगीसँग सम्बन्धित आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार क्यासिनो सञ्चालनको आडमा संगठित रूपमा जुवा खेलाइँदै आएको र विशेष प्रविधि प्रयोग गरी ग्राहकहरूलाई ठगी गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। क्यासिनोभित्र विशेष ‘इभेन्ट’ का नाममा नेपाली र भारतीय नागरिकलाई सहभागी गराई अनियमित गतिविधि भइरहेको सूचना पाएपछि छानबिन थालिएको थियो।

ADVERTISEMENT

अनुसन्धानका क्रममा तास खेलमा प्रयोग हुने विशेष लेन्स, चिप, म्याग्नेटिक कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न रहेको आशंकामा यसअघि केही विदेशी तथा नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइसकिएको छ।

प्रहरीले क्यासिनो वाल्डोको समग्र गतिविधि कानुनी मापदण्डअनुसार सञ्चालन भएको नदेखिएको बताउँदै थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका अध्यक्ष च्यान मिन चिङमाथि संगठित ठगी, अवैध आर्थिक कारोबार तथा क्यासिनो ऐन विपरीतका गतिविधिबारे अनुसन्धान जारी छ।

ADVERTISEMENT

काठमाडौंका क्यासिनोहरूको नियमन र अनुगमनमाथि पुनः प्रश्न उठाएको छ। प्रहरीले आवश्यक प्रमाण संकलनपछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।