काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन् । उच्च अदालत पाटनको आदेशमा उच्च सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिर जमानीमा छाडेको छ ।
प्रभु बैंकका अध्यक्ष देवी भट्टचन र कुसुम लामाको लफडामा मुछिएपछि शेरचन हप्तौंदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा थिए ।
गत हप्ता उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले पाँच दिनभित्र बयान सक्न अन्तिम पटकलाई म्याद थपको अधिकार दिएको थियो । सोहीअनुसार शुक्रबार शेरचनलगायत सरकारी वकिल कार्यालयबाटै छुटेका हुन् ।
रिहाइको कागज मिलाउन प्रभु बैंकका मणिराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यसहित सबैलाई सिआइबी मुख्यालय लगिएको छ ।






