काठमाडौं । निर्वाचनको मुख्य एजेन्डा लिएर गठन भएको अन्तरिम सरकारको मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गरिने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो ।
फागुन २१ को निर्वाचन आउन ७० दिन रहेका बेला प्रधानमन्त्री कार्कीले आफूले सम्हालेको परराष्ट्र मन्त्रालयमा शर्मालाई ल्याउने तयारी गरेकी हुन्।
वालानन्द शर्मा नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्रसंघ (यूएन) मा फोर्स कमाण्डर थिए। उनी सेना समायोजन विशेष समितिको संयोजकसमेत रहिसकेका छन्। उनी कूटनीतिक क्षेत्रमा समेत विशेष दख्खल राख्ने पूर्वसैनिक अधिकृत मानिन्छन् ।
प्रधानमन्त्री कार्कीले अझै पनि चार मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । यस्तै कुलमान घिसिङले तीन, अनिलकुमार सिन्हाले तीन, रामेश्वर खनालले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री कार्की आफैंले राख्ने भएकी छन् ।
हाल प्रधानमन्त्रीसहित १४ सदस्यीय मन्त्रिपरिषद् छ ।








