भैरहवा। जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा नेपाली राष्ट्रिय कराते टिम भारतको महाराष्ट्रस्थित पुणेमा आयोजना हुने १७औँ अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागी हुन प्रस्थान गर्ने भएको छ।

सङ्घले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा यही पुस १४ र १५ गते हुने प्रतियोगिताका लागि नेपाली टोली भारत प्रस्थान गर्ने जानकारी गराएको हो। प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

ADVERTISEMENT

नेपाली टिमको नेतृत्व प्रमुख प्रशिक्षक काजी रानाले गर्नुहुनेछ। टिममा २२ जना कराते खेलाडी, प्रशिक्षक र अफिसियलसहित कुल २८ जना सहभागी हुनेछन्। सहभागी खेलाडीहरू मुख्यतया लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट छनोट गरिएका छन्। उनीहरूले उमेर र तौल समूहअनुसार विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

ADVERTISEMENT

सङ्घका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूझैं यसपटक पनि नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशिक्षक तथा सङ्घका संस्थापक काजी रानाले प्रशिक्षण, अनुशासन, शिक्षा र खेल कौशललाई आधार बनाएर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने दृढ विश्वास रहेको बताए।

लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै पनि तहको सरकारबाट सहयोग नपाए पनि खेलाडीहरूले राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्नेमा विश्वस्त रहेको धारणा राखे।

ADVERTISEMENT

नेपाली टिमले यसअघि सन् २०१७, २०२१ र २०२३ मा यो प्रतियोगितामा च्याम्पियन बनेको इतिहास दोहोर्‍याउने लक्ष्य राखेको छ।