काठमाडौँ । हाँस्य कलाकार अर्जुन घिमिरे पाँडेले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुनेभएको छ ।
चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले बुधबार आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताए । ‘चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने पनि हो । सोही मूल्यमान्यतालाई आत्मसात् गरी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध आवाज उठाउँदै देश र जनताका पक्षमा चलचित्र निर्माण गरेको छु । देशभक्त सच्चा नागरिकले सोच्ने कोणबाट चलचित्र तयार गरिएको छ,’ उनले भने ।
जेनजी आन्दोलनअघि नै चलचित्रको छायांकन सकिएको उल्लेख गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्न यथासक्य प्रयास गरिएको बताए । उनले चलचित्रले सामाजिक सन्देश प्रवाह गरे पनि त्यसको शैली चलचित्रकै रहेको स्पष्ट पारे । घिमिरेले चलचित्रको नामले नै कथाको संकत गरेको बताउँदै ‘झरीपछिको इन्द्रेणी’लाई अँध्यारोपछिको उज्यालोको रूपमा बुझ्न आग्रह गरे ।
चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले गाएको गीत हिट भइसकेको छ ।





